बैतडीको खोड्पेमा बस दुर्घटना : ९ जनाको मृत्यु, ३४ घाइते

  • ख-
  • ख+

कार्तिक २८, दार्चुला — बिहीबार राति बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

बैतडीको डिलाशैनी गाउँपालिका-१ गन्‍नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको यात्रुवाहक बस बिहीबार राति साढे १० बजे बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा ७ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । सानो घुम्तीबाट बस ५ सय मिटर जति तल खसेको उनले बताए । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।

प्रहरी र स्थानीय मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरेका छन् भने मृतकको शव निकालिएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पातल ल्याउँदै गरेको पनि प्रहरीले बताएको छ । उक्त बसमा ४० भन्दा बढि सवार रहेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्