लेखनाथ, फागुन २८ । पोखरा महानगरपालिका वडा नं. २८ ज्यामिरेस्थित तिर्सना युवा क्लबले दोस्रो खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
आगामी चैत १९ गतेदेखि २१ गतेसम्म पोखरा–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिनुभयो। प्रतियोगितासँगै छेलो हान्ने प्रतियोगिता र महिला रस्सा कसी प्रतियोगिता समेत आयोजना गरिने बताइएको छ।
“राष्ट्रिय खेलको विकास, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगिताले वडावासीबीच भाइचाराको सम्बन्ध सुदृढ बनाउँदै राष्ट्रियस्तरका भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने उद्देश्य रहेको अध्यक्ष गुरुङले बताउनुभयो।
भलिबल प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि दर्ता शुल्क ६ हजार रुपैयाँ तोकिएको छ। प्रत्येक टिममा २ जना अतिरिक्त खेलाडी सहभागी गराउन सकिने खेलकुद संयोजक समित गुरुङले जानकारी दिनुभयो।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ७१ हजार रुपैयाँसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ४१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गुरुङले बताउनुभयो।
त्यसैगरी, छेलो हान्ने प्रतियोगितामा प्रथम पुरस्कार २ हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ। महिला रस्सा कसी प्रतियोगितामा प्रथम पुरस्कार ३ हजार रुपैयाँ र प्रमाणपत्र तथा द्वितीय पुरस्कार १ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने जानकारी दिइएको छ।
गत वर्षदेखि भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले यस वर्षको कार्यक्रममा भलिबल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, महिला रस्सा कसी तथा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने तयारी गरेको छ। कार्यक्रम सञ्चालनका लागि स्थानीय बुद्धिजीवी, सामाजिक संघसंस्था तथा वैदेशिक रोजगारीमा रहेका वडावासी दाजुभाइ–दिदीबहिनीहरूको आर्थिक सहयोग रहने क्लबका उपाध्यक्ष विशाल गुरुङले जानकारी दिनुभयो।
वडावासीबीच सद्भाव कायम राख्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन उपाध्यक्ष गुरुङले सम्पूर्ण खेलप्रेमीहरूलाई सहभागिताका लागि आग्रह गर्नुभएको छ।









