लेखनाथ, चैत्र १७ । पोखरा महानगरपालिका वडा नं. २८ ज्यामिरेस्थित तिर्सना युवा क्लबले दोस्रो खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारीलाई तिब्र पारेको छ ।
यही चैत्र १९ गतेदेखि २१ गतेसम्म पोखरा–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको मूख्य प्रायोजकको रुपमा पोखरा २८ वडा कार्यालय रहेको क्लबका अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिनुभयो। प्रतियोगितासँगै छेलो हान्ने प्रतियोगिता, महिला रस्सा कसी प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने बताइएको छ।
“राष्ट्रिय खेलको विकास, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ७१ हजार रुपैयाँसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ४१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद संयोजक समित गुरुङले जानकारी दिनु भयो ।
त्यसैगरी, छेलो हान्ने प्रतियोगितामा प्रथम पुरस्कार २ हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ। महिला रस्सा कसी प्रतियोगितामा प्रथम पुरस्कार ३ हजार रुपैयाँ र प्रमाणपत्र तथा द्वितीय पुरस्कार १ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने जानकारी दिइएको छ।
भलिबल प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि दर्ता शुल्क ६ हजार रुपैयाँ तोकिएको छ भने प्रत्येक टिममा २ जना अतिरिक्त खेलाडी सहभागी गराउन सकिने खेलकुद संयोजक गुरुङले जानकारी दिनुभयो।
प्रतियोगितामा आर्थिक रुपमा सहयोग गर्ने क्रममा पोखरा २८ ज्यामिरेका कुशल गुरुङले भलिबल प्रतियोगिताको द्धितीय पुरस्कार प्रायोजन गर्नु भएको क्लबका अध्यक्ष प्रेम बहादुर गुरुङले जानकारी दिनु भयो । यसै गरी दिर्घ सिंह गूरुङले रसाकसीको प्रथम प्रायोजन गर्नु भएको छ भने, छेलो हान्ने प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन सुमे पूर्ण बहादुर गुरुङले गर्नु भएको कुरा आयोजकले जानकारी दिएको छ । यसै गरी २० कार्टुन पिउने पानीको प्रायोजन पोखरा १३ वर्षा पिउने पानीले गरेको छ भने पोखरा २८ २८ ओख्ले निवासी विष्णु बहादुर अधिकारीले २ थान भलिबल सहयोग गर्नु भएको क्लबका सदस्य सुजन गुरुङले बताउनु भयो ।
गत वर्ष देखि भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले वडावासीबीच भाइचाराको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्रियस्तरका भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र उक्त कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन उपाध्यक्ष विशाल गुरुङले सम्पूर्ण खेलप्रेमीहरूलाई सहभागिताका लागि आग्रह गर्नुभएको छ।









