बेगनासतालमा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस हुने

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, २३ फागुन । पोखरा महानगरपालिका वडा नं.३१ बेगनासतालमा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस हुने भएको छ ।
नेपाल ड्रागन बोट संघ गण्डकी प्रदेश, पोखरा महानगरपालिका , होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको संयुक्त आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रर्बद्धनमा आगमी चैत ११ र १२ गते हुने भएको हो ।

पोखरा महानगरापलिका तथा गण्डकी प्रदेशमा आन्तरिक तथा वाह्य पर्यटकहरुको गन्तव्य स्थल बनाउने र समग्र लेखनाथ लेखनाथ क्षेत्रको पर्यटन प्रवद्र्धन तथा प्रचार प्रसार गर्ने उदेश्यले उक्त ड्रागन बोट रेस सञ्चालन गर्न लागिएको होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका अध्यक्ष बिरभद्र कंडेलले बताए ।

होटल तथा रेष्टुरेण्ट लेखनाथको व्यवस्थापनमा र लेखनाथ स्थित सम्पूर्ण सामाजिक संघ संस्थाहरु र ओभरसिज चाइना एशोसियशन अफ पोखरा नेपालको सहयोगमा उक्त ड्रागन बोट रेस सञ्चालन गरिने होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका महासचिव सुरेश लामिछानेले जानकारी दिए ।

यसै गरी पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रबिन्द्र पौडेल, नेपाल ड्रागन बोट संघ गण्डकी प्रदेशका अध्यक्ष दिपक सुवेदी र यस क्षेत्रका सामाजिक संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थितिमा बुधबार भएको छलफलमा छिटै नै यस क्षेत्रका सामाजिक संघ संस्थाहरु रहने गरी विभिन्न उपसमिति गठन गरी जिम्मेवारी प्रदान गर्ने निर्णय भएको महासचिव लामिछानेले जानकारी दिए ।

साविक लेखनाथ क्षेत्रका ८ वटा वडाका वडा अध्यक्षहरु, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सल्लाहकार रहने उक्त ड्रागन बोट रेसमा चाइनाको प्राविधिक सहयोग रहने छ भने ६ वटा प्रदेशबाट एउटा समूह अनिवार्य रहने र अन्य समूह उक्त चाइनाको प्राविधिक समूहले छनौट गर्ने आयोजकले बताएको छ ।

निशुल्क रुपमा सञ्चालन गरिने प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस कार्यक्रमले समग्र लेखनाथ क्षेत्रकै गौरब बढाउने भएकाले उक्त कार्यक्रममा उपस्थित भई सहयोग गर्न लेखनाथबासीलाई होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका कोषाध्यक्ष शक्ति श्री कोइरालाले आग्रह गरेकी छिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्