कास्कीमा ९६ हजार ९१२ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो

  • ख-
  • ख+

पोखरा, १७ कात्तिकः कास्कीका ९६ हजार ९१२ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत नानीबाबु ढकालका अनुसार ६ महिनादेखि पाँच वर्ष उमेर समूहका ५१ हजार ४८२ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइएको छ ।

त्यस्तै एक वर्षदेखि पाँच वर्षसम्मका ४५ हजार ४३० जना बालबालिकालाई जुकाको औषधि खुवाइएको उहाँले बताउनुभयो । कात्तिक २ र ३ गते ती दुवै औषधि खुवाउने कार्यक्रम भए पनि उक्त मितिमा तिहार पर्व परेकाले हिजो र आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो । हिजो औषधि खुवाउन छुटेकालाई आज खुवाइँदैछ ।

पोखरा लेखनाथ महानगरपालिका र पाँचवटा गाउँपालिकाका सबै वडाका टोलमा औषधि खुवाउनका लागि एक हजार ६९ महिला स्वयंसेविका र ३०० स्वास्थ्यकर्मी समेत परिचालन गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

बालबालिकाको आँखामा लाग्ने रक्तअल्पता रोग लाग्न नदिन भिटामिन ‘ए’ र बालमृत्यु दर घटाउन जुकाको औषधि खुवाउने गरिन्छ । सरकारले हरेक वर्षको ६/६ महिना वैशाख ६ र ७ र कात्तिकको २ र ३ गते बालबालिकालाई सो औषधि खुवाउँदै आउने गरेकोछ । (रासस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी