पत्रिकाका समाचारः सांसद्का भोगीदेखि पाहुना उम्मेदवारसम्म

  • ख-
  • ख+

१८ कात्तिक, काठमाडौं । शनिबार राजधानीबाट प्रकाशित भएका सबैजसो दैनिक पत्रिकाहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनकै विषयको वरिपरि रहेर समाचार लेखेका छन् । रैथानेदेखि टुरिस्ट उम्मेदवारसम्मको वर्णन आजका पत्रपत्रिकाहरुले गरेका छन् । यसका अलावा ८८ किलो सुन तस्करका नाइकेलाई समात्न नसकेको प्रहरीले निर्दोषलाई हिरासतमा राखेको, सोधभर्नाको बक्यौता ४४ अर्ब बाँकी रहेको, विकट जिल्लाको चुनावी रौनक ठमेलमा देखिएको, अस्थायी शिक्षकलाई प्रश्नै सजिलो सोधेर पास हुन सहज बनाउन लागिएको लगायतका खबर आजका पत्रपत्रिकाहरुले छापेका छन् ।

यी उम्मेदवार जसले आफैंलाई भोट दिन पाउँदैनन्

 

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका केही उम्मेदवारहरुले आफैंलाई भोट हाल्न पाउँदैनन् । आफ्नो मतदाता नामावली नै नरहेको स्थानबाट उम्मेदवार बनेकाले ती उम्मेदवारले आफैंलाई भोट हाल्न नपाउने भएका हुन् ।

नागरिक दैनिकका अनुसार, दाङ छाडेर दोस्रो संविधान सभा निर्वाचन, २०७० मा रोल्पाबाट उम्मेदवार भई विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा अहिले दाङ क्षेत्र नं. २ मा उम्मेदवार बनेका छन् । तर, उनले आफूले आफैंलाई भोट हाल्न पाउने छैनन् । उनी दाङका नभई रोल्पाका मतदाता हुन् । १७४३२६२५ मतदाता नम्बर भएका महरा रोल्पा नगरपालिका–१ का मतदाता हुन् ।

महरालाई रोकेर दाङ २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने योजनामा थिए, एमाले नेता शंकर पोखरेल । महरालाई पाहुना उम्मेदवार भनेर विरोध गरेका उनी आफैं पाहुना उम्मेदवार बन्न पुगेका छन् । आफ्नो क्षेत्रबाट महराले प्रतिनिधिसभा सदस्य टिकट पाएपछि प्रदेशसभा सदस्य उम्मेदवार बन्न अर्को क्षेत्रमा गएका छन् । उनले अब आफूले आफैंलाई मत दिन पाउने छैनन् । पोख्रेल र महरा त प्रतिनिधिपात्र मात्र हुन् । एमाले नेता प्रकाश ज्वाला, माओवादीका झक्कु सुवेदीलगायत नेताले पनि आफूलाई भोट हाल्न पाउने छैनन् ।

छैटौंपटक सांसद् बन्न मैदानमा

मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएकामा ०४८ सालदेखि ०७४ सालसम्म लगातार सांसद्, सभासद हुने मौका पाएका नेता पनि छन् ।

‘छैटौं पटक सांसद् बन्न मैदानमा’ शीर्षक दिएर नागरिक दैनिकले लेखेको छ– ६ नेताले ०४८ सालदेखि गत असोज २८ सम्म करिब २६ वर्षसम्म लगातार सांसद् सभासद् हुने मौका पाएका छन् । यी नेतामध्ये नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले यसपटक उम्मेदवारी दिएनन् । बाँकी ५ नेता अहिले पनि उम्मेदवारी दिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, भर्खरै कांग्रेस फर्किएका विजयकुमार गच्छदार, कांग्रेस नेता पूर्णबहादुर खड्का र रामजनम चौधरी छैटौंपटक सांसद् बन्न मैदानमा उत्रिएको नागरिकमा उल्लेख छ ।

भक्तपुरवासीलाई सरप्राइज

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै भक्तपुरवासीले दुईटा सरप्राइज पाए ।

पहिलो सरप्राइज, ०४८ देखि निरन्तर चुनाव जित्दै आएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे यसपटक उम्मेदवार भएनन् । दोस्रो सरप्राइज, लामो समयदेखि सक्रिय राजनीतिबाट टाढै रहेका पूर्वसभामुख दमननाथ ढुंगानाको उम्मेदवारी ।

चुनाव जित्ने करिबकरिब निश्चित हुँदाहुँदै पनि बिजुक्छेले आफ्नो क्षेत्रमा दोस्रो पुस्ताका नेता प्रेम सुवाललाई अघि सारेका छन् ।

विकट जिल्लाको चुनावी रौनक ठमेलमा

चुनाव सफल पार्न प्रमुख निर्वाचन आयुक्तले सबैलाई गरेको आग्रहलाई मुख्य समाचार बनाएर छापेको गोरखापत्र दैनिकले विकट जिल्लाको चुनावी रौनक पर्यटक नगरी ठमेलमा देखिएको समाचारलाई एंकर बनाएर छापेको छ ।

गोरखापत्र दैनिकका अनुसार, विभिन्न पार्टी समर्थक ठमेलका पर्यटन व्यवसायी आ–आफ्ना उम्मेदवारलाई जिताउन सक्रिय बन्दा ठमेलमा चुनावी रौनक देखिएको हो ।

गुमनाम गायिका विमला थिङ लामाबारेको सामग्रीलाई प्रमुखताका साथ छापेको अन्नपूर्ण पोस्ट दैनिकले पूर्वमन्त्री तथा दर्जनौं पूर्वसांसदहरुको रोजाइ प्रदेशसभ ाबनेपछि ३ नम्बर प्रदेशसभाले केन्द्रीय संसद्कै झल्को दिएको लेखेको छ ।

संसदीय अभ्यासमा अभ्यस्त एमालेका पूर्वप्रमुख सचेतक राजेन्द्र पाण्डेदेखि माओवादी केन्द्र र कांग्रेसका दर्जनौं सांसद् प्रदेशसभातर्फ उम्मेदवार बनेका छन् । प्रदेशसभामा हेभिवेटको बाढी लागेपछि यो प्रदेशको भावी मुख्यमन्त्रीबारे अनेक अड्काल काटिन थालेको छ ।

नाइके फरार, निर्दोष हिरासतमा

८८ किलो सुन प्रकरणका नाइके समात्न नसकेको नेपाल प्रहरीले निर्दोसलाई भने हिरासतमा राखेको छ ।

आजको नागरिक दैनिकका अनुसार, लुटिएको दाबी गरिएको १८ किलो र ८८ किलो सुन तस्करीको सञ्जाल एकै भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । भदौ १९ गते क्षेत्रपाटीबाट फेला परेको गाडीमा बरामद भएको ८८ किलो सुन र नागार्जुनको आदेश्वर मन्दिरनजिकै हत्या गरिएका गगन तामाङको समूह एकै भएको महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानबाट खुलेको छ ।

Source : onlinekhabar

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी