झलनाथ खनालसँग दुई युवाको भिडन्त

  • ख-
  • ख+

इलामः कहिले काठमाडौंका सडक, कहिले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर बढार्दै गरेको अवस्थामा भेटिने सचेन घले अहिले इलामका गाउँमा भोट माग्ने दौडधुपमा छन्। विवेकशील साझा पार्टीको तर्फबाट प्रतिनिधिसभामा इलाम १ बाट उम्मेद्वारी दिएका २७ वर्षीया घलेले एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाली कांग्रेसका स्थानीय नेता भुपेन्द्र कट्टेलसंग प्रतिस्पर्धा गर्दैछन्।

डेढ दशक भन्दा लामो खनालको विजय यात्राबाट निराशा बनेको युवा जमातले आफूलाई मतदान गर्ने विश्वास बोकेका घले सामाजिक सञ्जाल, भेटघाट र सभा मार्फत् जनताको माझमा पुग्ने प्रयासमा रहेको बताउँछन्।

झिल्कैबाट आगो सल्कने विशवास गर्ने घले गाउँ गाउँमा रहेको ठूलो दलको सञ्जाललाई विचारले चिर्दै अघि बढ्ने योजनामा छन्। अंग्रेजीमा स्नातकोत्तर गरेका घलेले भने, ‘हामी गाउँमा पुगेर पुराना दलहरुले मूल्य र मान्यता र हाम्रो राजनीतिक संस्कारबारे सुनाउँछौ।’ परोपकार र सम्बृद्धिका लागि आफ्नो पार्टीले गरिरहेको काम र अब गर्ने कार्यक्रमका बारेमा समेत जनतालाई सुनाउने उनको योजना छ।

इलामको सूर्योदय नगरपालिका ४ तक्पतका सचेनले राजनीतिक दलको सदस्यता यस अघि लिएका थिएनन्। उनले सुनाए, ‘मैले राजनीतिलाई नजिकबाट अध्यायन गर्ने प्रयास गरिरहेको थिए।’ अहिलेका पुराना दलले आफ्नो भावना नसमेट्ने भएपछि विवेकशील पार्टीमार्फत राजनीति सुरु गरेका उनलाई विवेकशील साझा पार्टीले टिकट दिएको हो।

पूर्व प्रधानमन्त्री समेत रहेका खनालसंगको टक्करलाई घलेले नयाँ अनुभवका रुपमा लिएका छन्। उनको उपस्थितिले दलबीच कडा प्रतिस्प्रर्धा सिर्जना हुने उनको अनुमान छ। उनले भने, ‘उहाँ (झलनाथ खनाल)ले सक्नु भएन त्यसैले हामी आउनु पर्यो।’ पुराना दलहरुले समृद्धिलाई बिर्सेकाले आफू अघि सरेको उनको भनाइ छ।

पुराना दलका ठूला नेता सुध्रेलान भनेर पर्खे पनि सुधार नभएकाले वैकल्पिक शक्तिको रुपमा आउनु परेको उनको भनाइ छ। उनले पुराना दलका नेताहरुलाई आरोप लगाए, ‘उहाँहरु आफै केही गर्न सक्नु हुन्न र अरुलाई गर्न पनि दिनु हुन्न।’ घलेले आफ्नो उपस्थितिले नेताहरु सुध्रिए भने मात्र पनि आफ्नो उपस्थिती सार्थक हुने बताए। घलेलाई गाउँगाउँबाट कार्यक्रमका लागि निम्तो आउन थालेको छ। कतिपय स्थानमा रञ्जु दर्शनासहितका नेताहरुलाई उभ्याउने उनको कार्यक्रम छ।

‘मेरो उम्मेद्वारीले प्रतिस्पर्धा निम्त्याउछ’, घलेले भने, ‘पुराना नेताले अधिकारको कुरा गर्दा मूलय मान्यतालाई कहा लत्याउनु भयो भनेर जनतालाई बुझाउन उम्मेद्वारी दिएको हुँ।’ राजनीतिलाई अपराध र फटाईमा परिणत दलहरुले गरेको बताउने उनले सबै दलहरुका सचेत नागरिकले मतदान गर्ने विश्वास गरे। उनी तराजु चिन्ह लिएर चुनावी मैदानमा छन्।

प्रतिनिधि सभामा खनालकै क्षेत्रबाट अर्का युवा मानवीर लाप्चाले पनि प्रतिस्पर्धा गर्दै छन्। २९ वर्षीय लाप्चाले नयाँशक्ति पार्टीबाट उम्मेद्वारी दिएका हुन्। दश वर्ष माओवादी केन्द्रका कार्यकर्ताको रुपमा काम गरेका लाप्चाले वैल्पिक राजनीति र समृद्ध नेपालको निर्माणका लागि ठूलो जनमत देखिएकाले त्यो जनमतलाइ संस्थागत गर्न उम्मेदारी दिएको बताए।

लोपउन्मुख लेप्चा समुदायको प्रतिनिधित्व समेत गर्दै उम्मेद्धारी दिएका उनले ठुला दलका नेताले राजनीतिलाई जागिर र ेिशा जस्तो बनाएकाले त्यो मानसिकता भत्काउन उम्मेद्धारी दिएको दावि गरे। सुर्योदय नगरपालिका ९ रम्फोकका लेप्चाले आँखा चिन्हमा मतदान गरेर युवा पुस्ताले आफ्नो प्रतिनिधित्व स्थापित गराउने विशवास गरे। उनले निर्वाचन कार्यक्रम बनिसकेकाले अब जनतामाझ जाने बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी