नेपाल जान पाए बाँच्थें कि भनेकी बहा मुर्मुकाे कुवेतमै निधन

  • ख-
  • ख+

कात्तिक १८– ‘नेपाल पुग्न पाए निको हुने थिएँ कि’ केहि समय अघि आफ्नो अवस्था बुझ्न अस्पताल पुगेका नेपालीलाई बहा मुर्मुले भन्नुभएको वाक्य हो यो । उहाँलाई नेपाल फर्किन पाए बाँचिन्थ्यो कि भन्ने आशा धेरै थियो ।

त्यसैले उहाँले सबैलाई आफूलाई घर फर्काइदिन सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर उहाँको सपना पुरा भएन् । उहाँको उपचार गराइरहेको फर्वानिया अस्पतालमा स्थानीय समय अनुसार शुक्रबार राती १२ बजे निधन भएको छ ।

 

झापाको  शिवसताक्षी नगरपालिकाकी २९ वर्षिया मुर्मुको हृदयघातका कारण निधन भएको अस्पतालको भनाई उदृत गर्दै कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । गएको अक्टोबर १ तारिखमा विरामी भएर सहयोग माग्दै दूतावास पुगेकी मुर्मुको फर्वानिया अस्पतालमा उपचार भइरहेको थियो ।

उहाँ विरामी भएर अस्पताल भर्ना हुँदा पनि परिवारको फोन नम्बर नभएकाले सम्पर्क हुन सकेको थिएन् । उज्यालो अनलाइनमा कुवेत पुगेकी मुर्मुसित घरको फोन नम्बर छैन, शरीर सुकेर कालो भईसक्यो शीर्षकको खबर प्रकाशित भएपछि परिवार सम्पर्कमा आएका थिए ।

झण्डै ४ वर्ष अघि घरेलु कामदारको रुपमा कुवेत पुगेकी बहा मुर्मु गैर कानूनी रुपमा बस्नुभएको थियो । दूतावासको सहयोगमा पहिलो पटक अस्पताल पुगेकी मुर्मुलाई डाक्टरले रक्तचाप कम भएको र शरीर कमजोर भएको भन्दै सामान्य औषधि दिएर पठाएको थियो ।

अस्पतालबाट दूतावासको सेल्टरमा पुगेकी मुर्मु फेरि बिरामी भएपछि फेरि फर्वानिया अस्पतालमै उपचारका लागि भर्ना गरिएको थियो । रक्तचाप र कमजोरीमा छालाको बिरामी पनि थपिएपछि उहाँको अवस्था जटिल भएको डाक्टरले बताएका थिए ।

उहाँले नेपाल पुग्न पाए निको हुने थिएँ भन्दै सहयोग गर्न आग्रह गरेको र परिवारले पनि घर फर्काइदिन आग्रह गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् (एनसिसी) ले उहाँलाई नेपाल फर्काउन पैसा जुटाउन अभियान सुरु गरेको थियो ।

बहा मुर्मु हिँड्न नसक्ने अवस्थामा रहेकाले नर्ससँगै ह्विल चियर वा बेडसँगै पठाउनु पर्ने हुन सक्ने भएकाले ६५० देखी १ हजार दिनारसम्म लाग्न सक्ने र केयर गिभर पनि पठाउन परेमा खर्च अझै बढ्ने भन्दै संयोजक सुस्मिता लिम्बूले सहयोगका लागि सबैलाई अपिल पनि गर्नुभएको थियो ।

मर्मुको निधनपछि अभियान स्थगित गरिएको संयोजक लिम्बुले जानकारी दिनुभयो । अभियानका क्रममा उठेको रकम मुर्मुको शव नेपाल पठाउन र उहाँको काजकिरियाका लागि नेपाल पठाउने पनि लिम्बुले बताउनुभयो ।

उहाँको शव पोष्टमार्टम तथा आवश्यक प्रक्रियाका लागि आजै जाहारा अस्पताल पुर्याइएको  छ । आवश्यक प्रक्रिया पुरा गरी  शव नेपाल पठाईने नेपाली राजदूतावास कुवेतका श्रम सहचारी मनोज सिंहले जानकारी दिनु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी