काठमाडौँ : भदौ २३ र २४ को घटना छानबिन गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सबै दोषीलाई कारबाहीको सिफारिश गरेको प्रतिवेदन दिएका छन्।
प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि भदौ २३ र २४ दुवै दिनको घटनाको दोषीलाई कारबाहीको सिफारिश गरेको बताएका हुन्।
‘गोली हान्ने, हान्न लगाउने र नरोक्ने सबै कारबाहीको सिफारिसमा परेका छन्’, उनले भने, ‘किशोरहरूलाई शहीद बनाउनेहरूलाई कारबाही गर भनेका छौँ।’
उनले निर्वाचनको परिणाम कुरेर प्रतिवेदन बुझाएको भन्ने भनाइको प्रविाद गरे। आफूहरूले काम नसकेकै कारण प्रतिवेदन बुझाउन ढिलो भएको बताए। उनले मुलुकको लागि काम गरेको हुनाले आफूलाई ‘सन्तोष’ लागेको उनले बताए।
कार्कीले प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको भन्दै नभए अर्को आन्दोलन हुनसक्ने चेतावनी दिए। ‘प्रतिवेदन कार्यान्वयन नभए अर्को आन्दोलन हुनसक्छ भनेको छु’, उनले भने।