वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले तीन दशक बढी समय बालबालिकाको मुटु उपचारमा बिताए । लाखौं मुटु छामे, हजारौं कलिला मुटु चिरे ।

धेरैजसो अवस्थामा ती अप्रेसन सफल हुन्थे, बच्चाहरू नयाँ जीवन लिएर अस्पतालबाट घर फर्किन्थे । आमाबाबुको मुहारमा खुसी देखिन्थ्यो, डाक्टरको मनमा सन्तोष हुन्थ्यो । उपचारको दौडमा उनले यस्ता पीडादायी क्षणको अनुभूति पनि गरे– मुटुको जटिल शल्यक्रिया गरेका बच्चाको सामान्य संक्रमणका कारण ज्यानै जान्थ्यो ।

शरीरमा केही समस्या देखिए दौडाएर अर्को अस्पताल लैजानुपर्ने बाध्यता थियो । पेटको समस्या, पिसाबको संक्रमण, मस्तिष्कसम्बन्धी समस्या वा अन्य साधारण जस्तो देखिने रोगको उपचार समयमै हुन नसक्दा अबोध बालबालिकाले प्राण त्याग गर्थे ।

कलिला बालबालिकाको मृत्युको कारण डाक्टरको असफलता मात्रै थिएन, प्रणालीगत कमजोरी पनि थियो । यही पीडाले डा. कोइरालाको मनमा एउटा गहिरो प्रश्न जन्मायो– यदि सबै सेवा एउटै ठाउँमा उपलब्ध हुन्थ्यो भने यी बच्चाहरू बच्न सक्दैनथे ?

काठमाडौं बाल अस्पताल : अन्तर्राष्ट्रिय स्तरको सेवा, सरकारी सरह शुल्क