ऋषिराम रानाभाट
तनहुँ, ११ फागुन – भानु नगरपालिका वडा नं। २ स्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयको ७४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले विद्यालयको व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक, शिक्षक, विद्यालय प्रशासन र व्यवस्थापन समितिबीच समन्वय आवश्यक रहेको बताउनुभयो। विद्यालयका पूर्वविद्यार्थीसमेत रहनुभएका प्रमुख त्रिपाठीले विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको बताउँदै सबै सरोकारवालाहरूको सुझाव, सल्लाह र सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा तनहुँ शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उद्धवराज जमरकट्टेल, भानु नगरपालिका वडा नं। १० का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक हरिहर उप्रेती, शिक्षाविद तथा नेपाल सरकार शिक्षा सेवाका निवृत्त उपसचिव विष्णु प्रसाद मिश्र, शिक्षक अभिभावक संघका अध्यक्ष सोमबहादुर तामाङ तथा निवर्तमान वडा अध्यक्ष अर्जुन बहादुर खड्का लगायतले विद्यालयको शैक्षिक उन्नयनमा शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउँदै दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा अपरिहार्य रहेकोमा जोड दिनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविनराज दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिश्चन्द्र अधिकारीले विद्यालयको समग्र प्रगतिप्रतिवेदन प्रस्तुत गर्दै भावी योजनाका बारेमा प्रकाश पार्नुभयो।
शिक्षक दिनेश थापा मगर र रश्मि सेढाइले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक निराजन भट्टले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रममा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरूले पिटी प्रदर्शनका साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
विद्यालयमा तीन वर्षीय सिभिल इन्जिनियरिङ कार्यक्रमसहित कक्षा १ देखि १२ सम्म पठनपाठन भइरहेको छ। हाल विद्यालयमा ५२७ विद्यार्थी अध्ययनरत रहेका छन् भने कक्षा ११ र १२ मा व्यवस्थापन तथा शिक्षा समूहका विषयहरू अध्यापन भइरहेको सहायक प्रधानाध्यापक निराजन भट्टले जानकारी दिनुभएको छ।