पोखरा , २० असार । पोखरामा मिडिया समिट २०८३ तथा अग्रज पत्रकार सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा गण्डकी प्रदेशका ५ जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो ।
पोखराका अग्रज पत्रकार स्व. केशवराज पराजुली, तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी र पर्वतकी सरस्वती शर्मा जिज्ञासुलाई सम्मान गरिएको हो ।
प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुलाई जनही ५० हजार राशि, ताम्रपत्र र दोसल्लाले सम्मान गर्नु भयो । ३ दिनअघिमात्र निधन भएका स्व. पराजुलीको तर्फबाट नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षहरु कृष्णप्रसाद बास्तोला र नारायण कार्कीले सम्मान ग्रहण गर्नु भएको थियो । सम्मानित व्यक्तित्वको बारेमा लेखिएको ‘हाम्रो समयको पत्रकारिता’ पुस्तक पनि सोही अवसरमा विमोचन गरिएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
सरकारको नेतृत्वमा जुनसुकै दल भए पनि प्रेसको स्वतन्त्रताको सम्मान गर्नुपर्ने उहाँले जोड दिनु भयो ।
“प्रेस जगत् स्वतन्त्र हुनुपर्छ त्यसमा दुई मत छैन, पत्रकारिता पनि सत्यतथ्यमा आधारित, विश्वसनीय र जवाफदेही हुनुपर्छ,” उहाँले भने, “सामाजिक सञ्जाल र मूलधारको पत्रकारिताबारे नागरिकलाई पनि सुसूचित गर्नु जरुरी छ।”
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले कमीकमजोरी गर्दा निर्धक्क भएर कलम चलाउन आग्रह गर्दै मुख्यमन्त्री पाण्डेले आफू व्यक्तिगत हिसाबले पनि सधैं प्रेस स्वतन्त्रताको पक्षधर रहेको बताउनु भयो ।
कार्यक्रममा प्रेस रजिष्ट्रार , पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल , सम्मानित व्यक्तित्व विश्वबन्धु भण्डारी लगायतले पत्रकारीताबारेमा आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
यसै गरी मिडिया समिटमा ‘मिडियाको अर्थतन्त्र’ र ‘पत्रकारितामा एआई’ विषयमा बहसमूलक सत्र सञ्चालन गरिएको थियो। मिडियाको अर्थतन्त्र विषयमा हरि बहादुर थापा, डा भुमिराज चापागाई,दुर्गा अधिकारी र उजय शाक्यले आफ्नो धारणा राख्नु भएको थियो भने पत्रकार पवन पौडेलले सहजीकरण गर्नु भएको थियो । यसै गरी पत्रकारीतामा एआइ विषयमा बसन्त बस्नेत, डा.दोभान राइ, महेश भण्डारीले आफ्नो विचार व्यक्त गर्नु भएको थियो भने पत्रकार रघुनाथ वाग्लेले सहजीकरण गर्नु भएको थियो ।