‘वायु प्रदुषणबाट प्रत्येक ५ सेकेन्डमा एक जनाको मृत्यु’

  • ख-
  • ख+

जेठ २१,

वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ। राष्ट्रसंघका लागि मानव अधिकार तथा वातावरण सम्बन्धी विशेष प्रतिवेदकले ठूलो संख्यामा अकालमा मानिसको ज्यान गइरहेको सन्दर्भमा वायु प्रदुषण न्यून गर्न भइरहेका प्रयास पनि निकै सराहनीय रहेको बताएका छन्।

विशेष प्रतिवेदक डेभिड बोइडले वायु प्रदूषणलाई व्यक्तिको मानव अधिकारकै रूपमा लिइदिन विश्वका सरकारहरू समक्ष आग्रह गरेका छन्। ‘वायु प्रदूषण शान्त, अदृश्य तथा भयानक घातक समस्या हो। जसले विश्वभर हरेक वर्ष झण्डै ७० लाख मानिसको ज्यान लिइरहेको छ। यसबाट महिला, बालबालिका र गरिबी समुदायका मानिसलाई सबैभन्दा बढी असर पारिरहेको छ’, बोइडले भने। विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा बोइडले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘चीनसमेतका धेरै मुलुकमा व्यापक रूपमा वायु प्रदूषण न्यून गरिएका सफलताका काथाहरू छन्।

यी उदाहरणले वायु प्रदूषण रोकथाम गर्न सकिने समस्या हो भन्ने पुष्टी भइसकेको छ।’ बोइडले अहिले हरेक पाँच सेकेन्डमा एक व्यक्तिको अकालमै वायु प्रदूषणका कारण मृत्यु भइरहेको बताउँदै विश्वको झण्डै ९० प्रतिशत जनसंख्याले प्रदूषित हावामा श्वासप्रश्वास गरिरहेको उल्लेख गरेका छन्। मृत्यु हुने झण्डै ७० लाखमध्ये ६ लाख बालबालिका रहेका छन्। स्वच्छ हावा सुनिश्चित गर्न नसक्नुको अर्थ मानिसको जीवन, स्वास्थ्य र भलाईप्रतिको अधिकार उल्लंघन मात्र नभई स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको हनन भएको बोइडले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्