पोखरामा खानेपानी सुधार आयोजनाको शिलान्यास

  • ख-
  • ख+

पोखरा,२९ जेठ । नेपाल सरकारको ऋण लगानी र जापान सरकारको अनुदान सहयोगमा पोखरामा देशकै दोस्रो ठूलो खानेपानी सुधार विस्तार आयोजना शुरु भएको छ ।

खानेपानी क्षेत्रमा देशमा सञ्चालित मेलम्ची पछिको दोस्रो ठूलो आयोजनाको रुपमा लिईएको खानेपानी संस्थान अन्तर्गत सञ्चालन हुने सो आयोजना अन्तर्गत पोखराबाट १२ किमीको दूरीमा रहेको मर्दी मुहानबाट ल्याईएको पानी प्रशोधन गरी शुद्धीकरण गरेर पीउन योग्य बनाउने लक्ष्य राखिएको छ ।
सो प्रयोजनका लागि पानी प्रशोधन केन्द्र निर्माण तथा दुई हजार घनमीटर क्षमताका तीन वटा ट्याङकी निर्माण गरी नगरका विभिन्न क्षेत्रमा पाइप लाईन मार्फत विस्तार गर्ने योजना रहेको छ ।
सो आयोजनाको पोखरा महानगरपालिका–१९ पुरुनचौरमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच सङ्घीय सरकारका खानेपानी मन्त्री बिना मगरले शिलान्यास गरिन् ।

कार्यक्रममा मन्त्री मगरले खानेपानी जनताको मौलिक अधिकारको रुपमा संविधानमा व्यवस्था भएबमोजिम देशका सबै जनतालाई प्रशोधित शुद्ध पीउने पानीको प्रवन्ध गर्न सरकार प्रतिवद्ध रहेको बताईन् ।
दुषित पानीको कारणबाटनै मानिसमा विभिन्न प्रकारका रोगहरु लाग्ने गरेको र शुद्ध खानेपानीको प्रवन्ध गर्न सके रोगबाट समेत बचाउन सकिने र मृत्युदर पनि घट्ने बताउँदै उनले भनिन्,‘आम जनतालाई शुद्ध खानेपानी पु¥याउने गरी सरकार योजनबद्ध हिसावले अघि बढेको छ, आगामी वर्षको बजेटमा पनि त्यसलाई प्राथमिकतामा राखेका छौँ ।’
मन्त्री मगरले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारबीच खानेपानी तथा सरसफाईको क्षेत्रमा समन्वय गरी कुन स्तरको आयोजना कसले सञ्चालन गर्ने भन्ने बारेमा समेत आयोजनाको बर्गीकरण गरिने बताईन् ।
खानेपानी सुधार तथा विस्तार आयोजना अहिलेसम्मकै महत्वपूर्ण आयोजना रहेकाले ढिलासुस्ती नगरी जनताको अपेक्षा अनुसार समयमै काम सम्पन्न गर्न उनको आग्रह छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले प्रदेश सरकारको पहिलो निर्णयनै दुईवर्षभित्रमा प्रत्येक जनताको घरमा धारा पु¥याउने रहेको बताउँदै खानेपानी विस्तार तथा शुद्धीकरण योजनाले लक्ष्य हासिल गर्न सघाउने बताउँदै आयोजना अघि बढाउने सन्दर्भमा आईपर्ने समस्यालाई सरकारले हल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपालका लागि जापानका राजदुत मासामिची साइगोले जापान सरकार नेपाल र नेपाली जनतालाई नजिकबाट सहयोग गर्न सदैव तप्तर रहेको भनाई राखे ।
प्रदेशसभा सदस्य रामजी बरालले खानेपानीको बाँधका कारण मुहान आसपासका जनता वर्षेनी डुवानबाट पीडित हुँदै आएको उल्लेख गर्दै जमीन कटान र बस्ती डुबानको समस्याबाट पीडित जनतालाई आयोजनाले सम्वोधन गर्नुपर्ने बताए।
जापान सरकारको रु. चार अर्व ८१ करोड ३० लाख अनुदान सहयोगमा सन् २०१७ को फेब्रुअरी १५ मा सो आयोजनाको सम्झौता भएको थियो । सन् २०२२ को अन्त्यसम्ममा निर्माण गरी सक्ने गरी खानेपानी सुधार आयोजना अघि बढेको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्