लेखनाथ, १३ भदौ । पोखरा महानगरपालिका वडा नं.३१ नहरचोक स्थित जेष्ठ नागरीक सरोकार समाजले निःशुल्क रुपमा योग साधाना सुरु गरेको छ । भदौ ३ गते देखि सुरु गरिएको योग साधनामा जिवन विज्ञानका प्रशिक्षक चक्रपाणी गौतम र विष्णु गौतमले प्रशिक्षण दिनु भएको समाजका सल्लाहकार राममणी अधिकारीले जानकारी दिनु भयो ।
प्रत्येक दिन बिहान ५ बजे देखि ६ः३० बजे सम्म सञ्चालन भइरहेको उक्त साधनामा सर्वप्रथम शारिरीक व्यायाम र त्यसपछि ध्यान साधना हुने अधिकारीले बताउनु भयो ।
नेपाल सरकारका उपसचिव पदबाट अवकाश हुनु भएका प्रशिक्षक गौतमले मानिसका हरेक अंग प्रत्याङ्गलाई चलायमान हुने तरिकाले प्रशिक्षण दिनुभएको अधिकारीले बताउनु भयो । यस क्षेत्रका हरेक उमेर समूहका व्यक्तिहरुमा देखिएका सम्स्यालाई समाधान गर्ने उपायहरुको बारेमा समेत सल्लाह र सुझाव समेत दिनु भएको बताइएको छ ।
अहिले समाजमा मानिसहरु कुनै न कुनै प्रकारका रोगबाट पिडित हुँदै आएको अवस्थामा आफूले केही न केही गरेर यस क्षेत्रका विभिन्न उमेर समूहका मानिसका लागि योग साधना मार्फत जीवनलाई स्वस्थ्य राख्न आफूले निःशल्क रुपमा योग साधनामा प्रशिक्षण दिएको प्रशिक्षक चक्रपाणी गौतमले बताउनु भयो । निरन्तर रुपमा सञ्चालन हुने योग साधनामा उपस्थित भएर स्वास्थ्य लाभ लिन पनि उहाँले सबैमा आग्रह गर्नु भएको छ ।