पोखरा– युनाइटेड क्लबको आयोजनामा पोखरामा सञ्चालित ‘१४ औं पोखरा महोत्सव’ आइतबार भव्य रूपमा सम्पन्न भएको छ । अमरसिंह चौरमा गत पुस २९ गतेदेखि १३ दिनसम्म चलेको महोत्सवमा साढे २ लाख बढी दर्शकले अवलोकन गरेको र ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।

महोत्सवको समापन पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले गरे । सो अवसरमा बोल्दै मेयर आचार्यले पोखरा महोत्सवलाई महानगरले ‘रेडबुक’ मै राखेर अघि बढाएको बताए । उनले महोत्सव आयोजक युनाइटेड क्लबले पोखरा–२७ मा निर्माण गरिरहेको छात्रावास (होस्टल) का लागि महानगरबाट सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले महोत्सवमार्फत शिक्षा, स्वास्थ्य र पर्यटन (चिडियाखाना) जस्ता सामाजिक क्षेत्रमा क्लबले गरेको कामको प्रशंसा गरे ।

टिकटक विजेता गोले लामाद्धारा क्यान्सर पीडितलाई पुरस्कार

महोत्सवमा आयोजित टिकटक प्रतियोगिताको उपाधि गोले लामाले जितेका छन् । आशिष इन्स्टिच्युटको प्रायोजनमा भएको प्रतियोगिताको विजेता बन्दै उनले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । तर, उनले उक्त रकम क्यान्सर रोगबाट पीडित कास्कीको भुजुङखोला निवासी दिलमाया नेपालीलाई उपचार सहयोगस्वरुप हस्तान्तरण गरेर उदाहरणीय काम गरेका छन् ।

लक्की ड्र विजेतालाई एसी

महोत्सवको मुख्य प्रायोजक ‘बेटर होम एप्लाइन्सेज’ को स्टलबाट सामान खरिद गर्नेहरूबीच गोलाप्रथा गर्दा पोखराका ग्यालुबहादुर गुरुङले १ टनको एसी जितेका छन् । उनले १ लिटरको राइस कुकर किनेका थिए । यस्तै, दोस्रो हुने आयुष गुरुङले वाटर डिस्पेन्सर/गिजर, तेस्रो हुने शिशिर आचार्यले चिम्नी र चौथो हुने सुसन गुरुङले भ्याकुम क्लिनर प्राप्त गरे ।

खेलकुदमा १ लाख सहयोग

युनाइटेड क्लबले महोत्सवको आम्दानीबाट जिल्ला खेलकुद विकास समिति कास्कीलाई १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष लोकबहादुर थापाले महोत्सवबाट संकलित रकम पोखरा–२७ अर्चलेमा निर्माणाधीन छात्रावास र अन्य सामाजिक काममा खर्च गरिने बताए ।

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति, लोकदोहोरी र लाइभ कन्सर्टले दर्शकलाई मनोरञ्जन दिएको प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यका अनुसार महोत्सवमा ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको छ ।

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले स्थापनाकालदेखि नै चिडियाखाना निर्माणमा पहल गरेको क्लबले अब शिक्षा क्षेत्रमा छात्रावास निर्माणलाई प्राथमिकता दिएको बताए । महोत्सव समापन समारोहको सञ्चालन महासचिव दिनेश सुनारले गरेका थिए ।