नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ले चुनावी प्रचार अभियानलाई तीव्र रुपमा अगाडि बढाएको छ। चुनाव प्रचार कार्यक्रम अन्तर्गत मङ्गलबार घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पारेको छ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका तिलक रानाभाट आफ्नो चुनावी एजेण्डा सहित घरदैलो अभियानलाई तथा भेटघाट कार्यक्रमलाई संवाद यात्राको रुपमा अगाडि सारेका छन्। उनले मङ्गलबार मादी गाउँपालिका वडा नम्बर ११ र १२ का उपल्लो सारले तोबी सयमर्याङ वार्चोक खिमाजे बरालडाँडा लगायतका ठाउँहरूमा मतदाताहरूसँग भेटघाट कार्यक्रम गरेका छन्।
भेटघाट कार्यक्रममा बोल्दै रानाभाटले बदलिएको र सचिएको कांग्रेसले अब देशको नेतृत्व गर्ने र त्यसको नेतृत्व गगन थापाले गर्ने तयारीका साथ आफूहरू चुनावमा अगाडि बढेको बताएका छन् । उनले अब विकासका एजेण्डा र भविष्य नेपाली कांग्रेसबाट मात्र रहेकोले सबैले रुखमा मतदान गरेर नेपाली कांग्रेसलाई नै विजयी गराउनका लागि सबै मतदाताहरूसँग अनुरोध गरेका छन्।
भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्री यज्ञबहादुर थापाले सबै मिलेर हाम्रो र राम्रो मात्र नभई मादीको उत्पादन र मादीको माटो चिनेका व्यक्ति तिलक रानाभाटलाई जिताउनुपर्नेमा जोड दिएका छन्। साथै नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री जीवन परियारले अबको कांग्रेसको बाटोमा युवा र टेक्नोलोजीलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। सोही कार्यक्रममा मादी गाउँपालिका प्रेम तामाङ कृष्णचन्द्र बराल दिपेन्द्र ढकाल लगायतले तिलक रानाभाटको विकल्प कोही नरहेको भनाइ राखेका थिए।









