नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाताहरूबाट सुझाव सङ्कलन अभियानलाई तीव्र बनाएको छ। सोही अभियान अन्तर्गत कांग्रेसका उम्मेदवार तिलक रानाभाट विभिन्न टोल तथा बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकासका प्राथमिकता, स्थानीय आवश्यकता तथा जनचासोका विषयहरूबारे तथ्याङ्क सङ्कलनमा जुटेका छन्।
घरदैलो तथा अन्तरक्रिया कार्यक्रमहरूमा बोल्दै उम्मेदवार रानाभाटले क्षेत्र नम्बर १ को समग्र विकासका लागि सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले चुनाव जितेपछि संसदमा स्थानीय आवश्यकता झल्किने कार्यक्रम तथा नीतिहरू उठाउने र तथ्याङ्कमा आधारित विकास योजनालाई कार्यान्वयनमा लैजाने बताए।
रानाभाटले वर्तमान विकास प्रक्रियामा देखिएका कानुनी जटिलता र प्रक्रियागत बाधाहरू हटाउन आवश्यक रहेको उल्लेख गर्दै कांग्रेस नेतृत्वको सरकार बने संविधान संशोधनमार्फत विकास निर्माणमा रहेका अवरोधहरू हटाउँदै तीव्र विकासको वातावरण तयार गर्ने धारणा राखे। उनले जनताको प्रत्यक्ष सहभागितामा तयार गरिने योजना दीगो र प्रभावकारी हुने विश्वास पनि व्यक्त गरे।
पहिलो चरण अन्तर्गत सचिवालय उद्घाटन तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भइसकेको र त्यसबाट प्राप्त सुझावहरूलाई समेटेर प्रारम्भिक प्रतिवेदन तयार गरिएको उनले जानकारी दिए। अब दोस्रो चरणमा थप बस्ती केन्द्रित कार्यक्रम सञ्चालन गरी विस्तृत तथ्याङ्क सङ्कलन गर्दै प्राथमिकताका आधारमा विकास खाका सार्वजनिक गर्ने तयारी रहेको उनको भनाइ छ।
यसैबीच, चुनाव प्रचारप्रसारलाई प्रभावकारी बनाउन कांग्रेसले भातृ संगठनहरूलाई समेत सक्रिय बनाएको छ। नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ तथा नेपाल महिला संघ लगायतका संगठनहरूले घरदैलो, जनसम्पर्क तथा प्रचारात्मक कार्यक्रमहरूलाई तीव्रता दिएका छन्।
चुनाव परिचालन समितिका संयोजक एवं क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने ले सबै भातृ तथा शुभेच्छुक संगठनलाई परिचालन गर्दै प्रत्येक मतदातासम्म पुग्ने रणनीति अपनाइएको बताए। उनले सुझाव सङ्कलन अभियानले मतदाताको वास्तविक आवश्यकता पहिचान गर्न सहयोग पुग्ने र त्यसले चुनावी एजेण्डालाई अझ स्पष्ट बनाउने विश्वास व्यक्त गरे।
कांग्रेस कास्की–१ ले आगामी दिनमा टोलस्तरीय अन्तरक्रिया, युवा लक्षित छलफल तथा महिला केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै जनसमर्थन विस्तार गर्ने योजना समेत अघि सारेको जनाएको छ।










