लेखनाथ, १० फागुन । लेखनाथ उद्योग वाणिज्य संघमा ३ महिने सिलाई कटाई तालिम आइतबारदेखि शुरु भएको छ ।
सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय व्यवसायिक तथा सीप विकास तालिम केन्द्र गण्डकी प्रदेशको आयोजना एवम् लेखनाथ उद्योग वाणिज्य संघको समन्यमा तालिमको आयोजना गरिएको हो ।
तालिमको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले व्यवसायीहरुलाई कसरी सफल बनाउने र नयाँ उद्यमी व्यवसायीहरु उत्पादन गर्ने विषयमा संघ सँधै चिन्तनशिल रहेको वताउँदै तालिममा सिकेका सिपलाई व्यवहारमा प्रयोग गर्दै स्वरोजगार हुन आग्रह गरिन ।
कार्यक्रममा व्यवसायिक सीप विकास तालिम केन्द्रका प्रमुख अनिल सुवेदीले तालिम लिएपछि व्यवसाय गर्नुपर्छ भन्ने कुरामा केन्द्रले जोड दिंदै आइरहेको वताउँदै सीप सिकेर स्वरोजगार हुने कुराले आफुहरुलाई उत्प्रेरणा मिल्ने वताएका थिए ।
सुवेदीले  यस क्षेत्रको आवश्यकताको आधारमा माग गरे बमोजिमको तालिम लेखनाथमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यस्तै लेखनाथ उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले उद्धमी बन्ने अभिलाषाका साथ तालिममा सहभागी भएका सम्पुर्णलाई शुभकामना व्यक्त गरेका थिए ।
३ महिनासम्म सञ्चालन हुने तालिमकी प्रशिक्षक ममता बस्यालले नियमित रुपमा सहभागि भई भोलीका दिनमा व्यवसायी बन्ने सोचका साथ ध्यान दिन र मेहनत गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरिन ।
तालिम लिनको लागि आबेदन दिएका ५० जना भन्दा वढि मध्येबाट २१ जनालाई छनोट गरि तालिमको सञ्चालन गरिएको हो ।
उद्घाटन कार्यक्रमको सञ्चालन संघका महासचिव भरतराज ओझाले गरेका थिए ।