पोखरा ।
आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कास्कीले पोखराको अमरसिंह चौरमा विशाल चुनावी आमसभा आयोजना गर्ने भएको छ । आमसभामा कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
कास्की जिल्ला कार्य समितिका महासमिति सदस्य दीपक गुरुङका अनुसार, आमसभामा करिब १५ हजार सहभागी हुने अपेक्षा बताए । उनले गाउँगाउँबाट करिब १०० वटा गाडीहरू मार्फत जनप्रतिनिधि र कार्यकर्ताहरू आउने सुनाए । ‘सभामा हामीले गण्डकी प्रदेशकै १८ जना प्रत्यक्षतर्फका उम्मेदवारको एक÷एक मिनेटको बायो पनि देखाउँछौं,’ उनले भने ।
सभामा पार्टीले ‘बदल्यों कांग्रेस, बदल्छौं देश’ भन्ने मूल नारा अघि सारेको छ । बदलिएको कांग्रेसले विधि र संस्थागत प्रणालीलाई प्राथमिकता, सुशासन, पारदर्शिता र उत्तरदायित्वको पालन, साथै युवाशक्ति, उद्यमशीलता र रोजगारी सिर्जनालाई केन्द्रबिन्दुमा राख्ने सभापति किशोरदत्त बरालले जानकारी दिए । उनले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यो आमसभाले केवल नारामा सीमित नभई परिणाममुखी कार्ययोजना र स्पष्ट दृष्टिकोण जनता सामु प्रस्तुत गर्ने अवसर दिन्छ । हामी देश परिवर्तनको अभियानलाई सशक्त बनाउने दृढ अठोटमा छौं ।’
उनले आमसभामा विस्तृत जनसहभागिता सुनिश्चित गरी लोकतान्त्रिक मूल्य र विचारको विजय सुनिश्चित गर्न सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक र आम नागरिकलाई सहभागी हुन आह्वान गरेका छन् ।














