लेखनाथ, २९ चैत्र । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव प्रसाद ढुंगानाले व्यवसायीहरुले अब घरमै बसेर कर तिर्न सिक्नुपर्ने वताएका छन । शनिबार अधिकृत बिक्रेता संघ लेखनाथको दोश्रो साधारण सभाको उद्घाटन गर्दै ढुंगानाले अबको युग डिजिटल युग भएकोले प्रविधिको लाभ लिई समयको वचत समेत हुने गरि घरमै बसेर कर तिर्न सकिने र त्यस सम्बन्धी ज्ञान लिन आग्रह गरेका छन ।
फुर्सदको समय विभिन्न सामाजिक सञ्जालमा भुलेर समय बिताउनुको साटो अनलाईन प्रणालीमार्फत कारोबारका विवरणहरु प्रविष्ट गर्ने देखी करचुक्ता प्रमाणपत्र लिने सम्मका सुविधाहरुको विषयमा ज्ञान हासिल गर्न सकेको खण्डमा स्वयम व्यवसायीहरुलाई नै फाईदा पुग्ने र विभिन्न किसिमका उच्च जरिवानाहरुबाट बच्न सकिने वताएका थिए ।
उनले कर तिर्नु हरेक नागरिक र व्यवसायीहरुको दायीत्व भएको वताउँदै अब करलाई बोझ र झन्झट विषयका रुपमा लिन नहुने र राज्यका विभिन्न संयन्त्रहरुबाट साना–साना कारोवारहरुमाथी समेत कडा निगरानी हुने भएकाले कर छली सम्भव नहुने समेत वताएका थिए । ईमान्दार तरिकाले व्यवसाय गर्ने व्यवसायीहरुमाथी पर्ने विभिन्न समस्याहरुको समाधानका लागी आफुहरु संधै साथमा रहेको समेत उनले वताएका थिए ।
उक्त अवसरमा नेपाल वितरक महासंघ गण्डकी प्रदेशका अध्यक्ष बद्री ढुंगानाले तिन तहको सरकारका विभिन्न निकायमा तिर्नुपर्ने करका कारण व्यवसायीहरुले झञ्झट एवं सास्ती भोग्नुपरेको वताउँदै एकद्धार प्रणाली लागु गर्नुपर्ने बताएका थिए । उनले बजारमा भएको जनशक्तिको अभावले पनि आफुहरुलाई समस्या परिरहेको वताएका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पुर्वअध्यक्षहरु बलराम ढकाल र सुमन ढुंगाना, बरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोला, प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, एन एल जि ईन्स्योरेन्स कम्पनी लि। का लेखनाथ शाखा प्रमुख अमृत गोदार लेखनाथ मार्केटिङ ग्रुप एशोसियसन का अध्यक्ष उमेश अधिकारी, नेपाल वितरक महासंघ कास्कीका अध्यक्ष राजाराम शर्मा लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष निर्मल पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन सोभामोहन सुवेदीले प्रस्तुत गरेका थिए भने सचिवको प्रतिवेदन एवं कार्यक्रमको सञ्चालन महासचिव सन्तोष बराल र धन्यवाद ज्ञापन उपाध्यक्ष नवराज सुवेदीले गरेका थिए ।









