काठमाडौँ, जेठ १४ गते । चालु आर्थिक वर्ष २०८२/८३ मा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार सङ्घीय संसद्का दुवै सदनमा पेस गर्नुभएको चालु आवको आर्थिक सर्वेक्षणमा अर्थतन्त्रको आकार अर्थात् कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब नौ अर्ब पुग्ने अनुमान गरिएको हो ।
सर्वेक्षणले चालु आवमा आर्थिक वृद्धिदर ३.८२ प्रतिशत रहने अनुमान पनि प्रस्तुत गरेको छ । गत आवमा यस्तो वृद्धिदर ४.४३ प्रतिशत थियो । बागमती र गण्डकी प्रदेशबाहेकका सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान पनि सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षण अनुसार चालु आवमा प्रतिव्यक्ति आय अमेरिकी डलरमा एक हजार ५१३ पुग्ने अनुमान छ । प्रदेशगत हिसाबले बागमती प्रदेशको प्रतिव्यक्ति आय दुई हजार ६४४ पुग्ने अनुमान गरिएको छ । सबैभन्दा कम मधेश प्रदेशको ९३४ डलर रहने अनुमान सरकारको छ । अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७६ प्रतिशत पुग्ने अनुमान गरिएको छ । त्यस्तै अर्थतन्त्रमा उपभोगको अंश ९०.३ प्रतिशत रहने अनुमान सर्वेक्षणले गरेको छ ।
सार्वजनिक वित्ततर्फ सरकारको चालु खर्च फागुनसम्म १०.४ प्रतिशत र राजस्व ३.२ प्रतिशतले बढेको तथ्याङ्क छ । खर्च अनुसार राजस्व वृद्धि हुन नसक्दा सरकारले ५८ अर्ब रुपियाँ वित्त घाटा बेहोर्नु परेको छ । फागुनसम्म सरकारको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपियाँ पुगेको छ, जसमध्ये आन्तरिक ऋण ४७ प्रतिशत र बाह्य ऋण ५३ प्रतिशत रहेको छ । चालु आवमा मुद्रास्फीति नियन्त्रणमै रहेको सर्वेक्षणमा उल्लेख छ । फागुनसम्मको तथ्याङ्कका आधारमा औसत उपभोक्ता मुद्रास्फीति २.१३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।








