पोखराको विमानस्थलमा चीनको पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान ( with video )

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, ६ असार । चीनको सहयोगमा बनेर ६ महिना अघि उद्घाट गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक चीनको अन्तर्राष्ट्रिय व्यवसायिक उडान गरिएको छ । अङ्ग्रेजी नयाँ वर्ष जनवरी १ बाट सञ्चालनमा आएको विमानस्थलमा चीनको ‘सिचुवान एयरलाइन्स’ले बुधबार पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक चार्टर उडान गरेको हो ।


चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान भरेर सिधै पोखरा आएको न्यारोबडी ए ३१९ जहाज बिहान ९ः०६ बजे पोखराको अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार समेत गरी १३० जना यात्रु चीनबाट सोझै पोखरा झरेका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विदेशी वायुसेवाले गरेको यो पहिलो उडानसमेत हो ।

पोखरामा अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन गर्न साझा प्रयत्न ः अध्यक्ष गणेशप्रसाद तिमिल्सिना
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुमपा सञ्चालन गर्न पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रिय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरुको साझा प्रयत्नबाट मात्रै हुनु पर्नेमा जोड दिएका छन् । पोखरामा पर्यटन प्रवद्धन हुने बताए।
उनले आजको खुसीयालीलाई नियमित रुपमा कायम राख्न नेपालीले पूर्वाधार निर्माण, वातावरण सुधार र अतिथिको सत्कार गर्नुपर्ने बताए । उनले पर्यटनसँग सम्बन्धित संस्था र कर्मचारीहरुले कान ढालेर बसेर विमानस्थल सञ्चालन हुन नसक्ने उल्लेख गरे। भारतसँग जमीनको खुला सीमाना भएजस्तै आकाशमा पनि खुला सीमाना बनउनेतर्फ सोच्नुपर्ने बताए।
यसै गरी गण्डकी प्रदेश प्रमुख पृथ्विमान गुरुङ, गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संघीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनिया राजदुत छन् सोङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पोखरा अन्तराष्ट्रिय विमानस्थल र नेपाल र चिन बिचको सम्बन्धका बारेमा चर्चार गरेका थिए ।

पोखरामा नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभल हुने
पोखरामा असार ८ र ९ गते नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभल हुने भएको छ । यसका लागि चिनियाँ पर्यटक तथा खेलाडीहरुलाई सिचुवान एयरलायन्सको विमान चार्टर गरी ल्याइएको हो । चिनियाँ दुतावासले यस उडानका लागि महत्वपूर्ण भूमिका निभाएको बताइएको छ ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएसनले सहआयोजना गरेको फेस्टिभललाई होटल संघ नेपाल (हान) र नाराले समेत सहयोग गरेका छन् ।

बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । पोखराको फेवातालमा बोट रेस र फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल सञ्चालन हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताए ।
प्रतियोगितामा मुलुकका सातै प्रदेशबाट र चीनबाट गरी एक सय २० प्रतियोगी सहभागी हुनेछन् । दुई सय र पाँच सय मिटरमा दुई भागमा आठ बोट मार्फट रेस हुनेछ । विजेताले ३० लाख पुरस्कार पाउने आयोजकले जनाएको छ । फेस्टिभलमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम पनि रहनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्