राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र, मेलालाई सघाउने वस्तुगत संघहरुको प्रतिवद्धता

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा । मंसिरको तेश्रो साता हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र बनाइएको छ ।

पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित मेला मंसिर २१ मंसिरदेखि १ पुससम्म पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ । मेलाको मुख्य प्रायोजन लक्ष्मी हाउसको समृद्धि स्टिल्सले गरेको संघले जनाएको छ ।

‘लगानीको संवर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने नाराका साथ आयोजना हुने मेलामा पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेका छन् ।

संस्थाका अध्यक्ष पवनकुमार प्रजापतिका अनुसार मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा उत्पादित हस्तकला, वास्तुकला, कृषिजन्य उत्पादनको बिक्री र प्रदर्शन गरिनेछ ।

यस्तै, नयाँ औद्योगिक उत्पादन, अटो प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रम पनि मेलामा समावेश हुनेले बताए । उत्पादक र उपभोक्तालाई एउटै मञ्चमा ल्याउनु तथा सुस्ताएको बजार चलायमान बनाउनु मेलाको अर्को उद्देश्य भएको अध्यक्ष प्रजापतिले जानकारी दिए ।

मेलामा बिक्री हुने प्रत्येक टिकटको १० रुपैयाँ भूकम्पपीडितका लागि सहयोग गरिने उनले बताए । मेलामा देशका विभिन्न प्रतिष्ठिन घराना र उत्पादन जोडिएको र जोडिनेक्रम जारी रहेको संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए ।

तयारी अन्तर्गत स्टल बुकिङ धमाधम भइरहेको र  यो पटक स्टलको साजसज्जालाई विशेष ध्यान दिइएको संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्यले जानकारी दिए ।

मेलाको तयारीका लागि वस्तुगत संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुसँग बैठक पनि सम्पन्न भइसकेको संघका महासचिव बलराम आचार्यले बताए ।

देशभर सातै प्रदेशका उत्पादनका स्टल पनि मेलामा राखिने  र मेलामा नेपालसहित बंगालदेश, श्रीलंका, पाकिस्तान, भारत लगायत देशका प्रडक्टहरु पनि बिक्री तथा प्रदर्शनीमा राखिने संघले जनाएको छ ।

‘बिगतका वर्षमा जस्तै मेड इन नेपाललाई प्राथमिकता दिइनेछ,’ महासचिव आचार्यले भने । अटो पेभेलियन, बाल उद्यान, औद्योगिक क्षेत्रको छुट्टै स्टल, सूचना तथा प्रविधिका स्टलहरु पनि रहने आयाेजकले जानकारी दिएकाे छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्