ऋषिराम रानाभाट
लेखनाथ, मंसिर २५ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा २८ को आयोजना एवम् राइट फर चिल्ड्रेन कास्कीको सहयोगमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैगिक हिंसा सम्बन्धि सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा २८ वडा कार्यालयको सभाहलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले सामुदायिक सेवा केन्द्र कालिकाले हरेक वर्ष यस्ता सचेतनामुलक कार्यक्रम गर्दै आएकोमा खुशी व्यक्त गर्नु भयो । विकृति विसंगती रहित सभ्य समाज निर्माणमा जनता सचेत हुन जरुरी रहेको औल्याउनु भयो । समुदायको प्रत्येक घरबाट राम्रो वातावरणका साथमा आफ्ना बाबुनानीलाई असल आचरण सिकाउनुपर्नेमा वडा अध्यक्ष लामिछानेले जोड दिनु भयो । प्रशिक्षणमा जानेका कुरा घर देखि समुदायमा व्यवहारमा लागु गर्न सबैमा आग्रह गर्नु भयो ।
यसै गरी ईलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी निरिक्षक हरीप्रसाद सलामीले लैंगिक हिंसा सम्बन्धि सचेतना कार्यक्रममा प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षण कार्यक्रममा उहाँले सभ्य समाज निर्माणमा महिला पुरुष दुवैको बराबर जिम्मेवारी हुने बताउनु भयो । सचेत नागरीकले लैंगिक विभेद सम्बिन्ध कुरा सबैलाई सिकाउनु पर्ने बताउनु भयो । लैंगिक हिंसा घरबाटनै अन्त गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रहरी निरिक्षक सलामीले सरोकारवाला सबै सचेत हुनुपर्नेमा जोड दिनु भयो । लैंगिक हिंसाका कारण समाजमा अप्रिय घटना बृद्धि हुँदै गएको स्पष्ट पार्नु भयो । लैंगिक हिंसाका कारण, यसको रोकथाम लगायत विविध विषयमा प्रशिक्षण दिनु भएको थियो ।
लैगिक हिंसा सम्बन्धी १६ दिने अभियान अन्तर्गत लैगिक हिंसा सम्बन्धि सचेतनामुलक प्रशिक्षण कार्यक्रम सेवा केन्द्रका अध्यक्ष विकल केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सेवा केन्द्रका पूर्व अध्यक्ष केदारनाथ अधिकारी, शिवशक्ति महिला समूहकी अध्यक्ष विष्णुमाया पौडेल लगायतले समाजका विकृति र विसंगतीका बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो । सेवा केन्द्रका पूर्व अध्यक्ष एवम् सल्लाहकार राजेश भण्डारीले स्वागत गर्नु भएको कार्यक्रममा पोखरा २८ का वडा सदस्य डाल्डा देवी भुजेल, वडा सदस्य बिरेन्द्र भण्डारी, सेवा कैन्द्रका कार्यसमितिका पदाधिकारीहरु एवम् प्रहरी कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधहरु, कालिका बोड्रिङ स्कुलका विद्यार्थीहरु तथा स्थानीयबासीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन सेवा केन्द्रका सचिव मनोहरी बस्ताकोठीले गर्नु भएको थियो ।