ऋषिराम रानाभाट
लेखनाथ, मंसिर २५ । पोखरा महानगरपालिका वडा नंं.२८ स्थित श्याङ्खुदी कंडेल गाउँ हुँदै रैकर जोड्ने मोटरबाटो निर्माण कार्य सुरु भएको छ ।
गण्डकी प्रदेश सरकारको भौतिक योजना तथा पूर्वाधार विकास कार्यक्रम अन्तरगतको बहुवर्षिय योजना अनुसार पोखरा २८ श्याङखुदी कंडेल गाउँ, रैकर हुँदै देउराली मोटरबाटो निर्माण गर्न ५ करोड बजेट विनियोजन भएको हो ।
मोटरबाटोको स्तरन्नोती योजना अन्तरगत १ हजार ७ सय घन मिटरको ढलान, ६३२ घन मिटरको ग्याबिन, ५ सय ५७ घनमिटर रिटनिङ वाल, २१९ घनमिटर प्लम्ब वाल र ३ सय मिटर नाला निर्माण कार्यका लागि ज्ञान एस एण्ड सेवा कम्पनी मार्फत निर्माण कार्य सुरु गरिएको सडक निर्माण सहयोग समितिका अध्यक्ष श्याम बहादुर केसीले जानकारी दिनु भयो ।
गण्डकी प्रदेश सरकारबाट पूर्वाधार विकास कार्यक्रम अन्तरगत योजना ल्याइ कार्य प्रारम्भ गर्न राजनितिक दलहरु, स्थानिय बुद्धिजिवि, समाजसेवी लगायत सबैको पहलकद्मी र सहयोग रहेको अध्यक्ष केसीले जानकारी दिनु भयो ।
वि.सं.२०७० देखि नै उपभोक्ताको श्रमदानबाट श्याङखुदी, कंडेल गाउँ हुँदै रैकर जोड्ने मोटरबाटो निर्माण गरिए पनि यातायातका साधनहरु उक्त बाटोबाट सहज रुपमा आवत जावत गर्न सक्ने अवस्था नभएको सडक निर्माण सहयोग समितिका सचिव जिवन तिवारीले बताउनु भयो । यस सडक स्तरन्नोती योजनाले स्थानीयहरुमा खुशी छाएको तिवारीले बताउनु भयो । सडक स्तरन्नोती पछि श्याङखुदीबाट रत्नशोभा मावि सम्म जोड्ने बाटो छोटो हुने र स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि उपज बजार सम्म लगेर विक्रीवितरण गर्न पनि सहज हुने तिवारीले बताउनु भयो ।