पोखरा । पोखरा महानगरभित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ। होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको हो।

शुक्रबार बसेको सरोकारवाला सहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्षसमेत रहेका नगर प्रमुख धनराज आचार्यले बताउनु भयो । उहाँका अनुसार महानगर क्षेत्रमा सञ्चालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन गरी थप व्यवस्थित बनाउन लागिएको हो। यसले विद्यार्थीहरूलाई एसईई परीक्षाका लागि समेत मार्गदर्शन प्रदान गर्ने उहाँको विश्वास छ।

‘हालको परीक्षा सञ्चालन प्रणालीले विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा कुनै प्रकारको नयाँ अनुभूति मिल्ने अवस्था रहेन, यो आफ्नै विद्यालयमा तल्लो तहका नियमित परीक्षा जस्तै सीमित भयो,’ उहाँ भन्नु हुन्छ , ‘अब यसलाई उनीहरूको निकट भविष्यमा हुने विद्यालय तहको निकै महत्त्वपूर्ण मानिने एसईई परीक्षाको पूर्वअभ्यासका रूपमा विकास गर्नु पर्छ, ताकि विद्यार्थी मानसिक रूपमा पनि त्यसका लागि तयार होस्।’ यसो गर्दा कक्षा ८ का विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा नयाँ अनुभूति हुने र यो एसईई परीक्षाको पूर्वअभ्यासका रूपमा समेत महत्त्वपूर्ण हुने उहाँले बताउनु भयो ।
यसले अन्तरविद्यालय विद्यार्थी घुलमिल, नयाँ साथीहरूसँग उनीहरूको भेटघाट, नवीन वातावरणमा सामञ्जस्य, आफ्नो विद्यालय र अन्य विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको अनुभूति लगायतमा विद्यार्थीहरूलाई नयाँ सिकाइ प्रदान गर्ने विश्वास गरिएको महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताउनु भयो । उहाँका अनुसार महानगरपालिकाले विद्यार्थीहरूको सिकाइ प्रवर्द्धनका लागि विभिन्न किसिमका रचनात्मक उपायहरू अवलम्बन गर्दै आएको छ। सोही अनुसार आधारभूत तहको परीक्षा प्रणालीमा सुधारसहित यसलाई समयानुकूल बनाउन लागिएको उहाँले बताउनु भयो ।

शिक्षा समितिको बैठकले परीक्षा सञ्चालनका लागि विद्यार्थीहरूलाई पायक पर्ने गरी ३३ वटा परीक्षा केन्द्र उपयुक्त हुने प्रस्ताव गरेको छ। तर, विद्यालय शिक्षाका सरोकारवाला (प्याब्सन, एन प्याब्सन, युनिप्स र पेशागत संघसंस्था) हरूसँग आवश्यक छलफल तथा परामर्श गरी यसलाई टुंग्याइने छ। परीक्षा केन्द्र तोक्दा सामान्यतया परीक्षा सञ्चालन प्रणालीको मापदण्डका आधारमा विद्यार्थीहरूलाई पायक पर्ने गरी नै तोकिएको समितिले जनाएको छ। यस वर्ष पोखरामा १० हजार ५२२ जना विद्यार्थीहरू कक्षा ८ को परीक्षामा सहभागी हुनेछन्। जसमा ६ हजार ५ सय संस्थागत विद्यालयका विद्यार्थी रहेका छन् भने, ४ हजार २२ जना विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन्।