बिहीबारदेखि पोखरामा पनि सार्वजनिक यातायात चल्ने

  • ख-
  • ख+

श्रावण ४, पोखरा । आगामी बिहीबारदेखि पोखरामा पनि सार्वजनिक यातायात सञ्‍चालन हुने भएको छ । पृथ्वी राजमार्ग बस सञ्‍चालक कम्पनी प्रालीले साउन ८ गतेदेखि यातायात सञ्‍चालन गर्ने निर्णय गरेको हो ।

सरकारले असार २६ देखि यातायात सञ्चालन गर्न आग्रह गरेपनि व्यवसायीले विभिन्‍न माग राख्दै सञ्‍चालन मिति अनिश्‍चितजस्तै बनाइरहेका थिए । तर साउन २ गते सार्वजनिक मौद्रिक नीतिले कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई सहुलियतमा ऋण, पुनर्कर्जा र कर्जाको समय सार्न सकिने सम्बन्धी व्यवस्था ल्याएपछि व्यवसायी सेवा थाल्न राजी भएका हुन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले व्यवसायीको आवाज सम्बोधन भएको आभास मिलेको कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए । उनका अनुसार लकडाउनको मोडालिटी परिवर्तन गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सवारी सञ्चालन गर्न सर्कुलर गरिएको हो ।

सवारी साधन र स्टाफहरुलाई चुस्त दुरुस्त अवस्थामा राख्न व्यवसायीलाई सर्कुलर गरिएको अध्यक्ष केसीले बताए । लकडाउनका कारण सञ्चालनमा सेवा सञ्चालन नभएपनि बैंक तथा वित्तीय संस्थाले कर्जाका लागि ताकेता गरिरहेको भन्दै कम्पनीले यसअघि २ सय भन्दा बढी सवारीको गाडी विरोध स्वरुप सम्बन्धित संस्थामै बुझाएका थिए ।

मौद्रिक नीतिले कोरोना प्रभावित क्षेत्रलाई ५ प्रतिशतमा सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै पुनर्कर्जा र समय तालिकीकरणका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्