पोखरा, चैत २६ । पोखराको सभागृह चोकमा एक पुरुषले मालेपाटनकी एक महिलालाई धारिलो हतियार प्रहार गरी फरार भएका छन् । बुधबार साँझ करिब ७ बजेको समयमा

धारिलो हतियार प्रहार हुँदा मालेपाटन बस्दै आएकी ४२ वर्षीया सिर्जना पौडेल केसीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

सभागृह चोकमा बुधबार साँझ एक अपरिचित पुरुषले केसीलाई धारिलो हतियार प्रहार गरी फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा थप अनुसन्धान गर्दै हतियार प्रहार गर्ने पुरुषको खोजीकार्य तीव्र पारेको छ ।

अपराधीलाई उन्मुक्ति नदिन मेयर आचार्यको आग्रह

पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखराको मुटु सभागृह चोकमा बुधबार साँझ ७ बजे धारिलो हतियार प्रहार गरी ४२ वर्षीया सिर्जना पौडेल केसीको निर्मम हत्या प्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।
“यस जघन्य अपराधमा संलग्न दोषीलाई यथाशीघ्र पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही गरिनुपर्छ, मेयर आचार्यले फेसबुकमा स्टाटस लेख्नु भएको छ । नागरिकको जिउधनको सुरक्षाको सुनिश्चितता गर्न सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी र सुदृढ बनाउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछु, भेयर आचार्यले भन्नु भयो । अपराधीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिइयोस् भनी कास्की प्रहरी प्रशासनलाई सजग रहन मेयर आचार्यले आग्रह गर्नु भएको छ ।
“हामी सबै शान्त, सुरक्षित र भयमुक्त पोखरा चाहन्छौँ, यस घटनाका दोषीको खोजी तीव्र गतिमा भइरहेको र कडा कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारीसहित पीडित परिवारलाई न्याय दिलाइने विश्वास व्यक्त गर्दछु,” मेयर आचार्यले फेसबुकमा लेख्नु भएको छ ।