पोखरा । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वीचोकस्थित ४ रोपनी सार्वजनिक जग्गा र त्यहाँ बनेको १३ कोठे भवन अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले फिर्ता गरेको छ । महानगरपालिका र उपत्यका नगर विकास समितिले सार्वजनिक जग्गा खाली गर्न जारी गरेको ३५ दिने सूचनाको समयसीमा सकिएकै दिन महासंघले भवनको चाबी हस्तान्तरण गरेको हो ।

शनिबार आयोजित कार्यक्रममा महासंघका गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले २०६७ सालमा करिब १ करोड ५३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको भवनको चाबी पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरे ।

भवन हस्तान्तरण गर्दै गौतमले श्रमिकहरूको योगदानबाट निर्माण गरिएको भवनको उचित उपयोग हुनुपर्ने बताए । ‘श्रमिकहरूको पसिनाले बनेको भवनको पूर्ण रूपमा सदुपयोग होस् भन्ने हाम्रो चाहना हो,’ उनले भने । उनले सार्वजनिक सम्पत्तिको संरक्षणप्रति महासंघ सकारात्मक रहेको उल्लेख गर्दै भवन जनहितका काममा प्रयोग हुने विश्वास व्यक्त गरे ।
चाबी बुझ्दै नगर प्रमुख आचार्यले सार्वजनिक तथा सरकारी स्वामित्वका जग्गा संरक्षण अभियानमा यो कदमलाई सकारात्मक सुरुवातका रूपमा लिएको बताए । ‘सार्वजनिक सम्पत्तिको संरक्षण सबैको साझा दायित्व हो,’ उनले भने, ‘महासंघले समन्वयात्मक ढंगले भवन हस्तान्तरण गरेर उदाहरणीय काम गरेको छ ।’