पोखरा, असार ६ – नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा तथा सूचना तथा सञ्चार मन्त्रालय र गण्डकी प्रदेश सरकारको सहयोगमा “डिजिटल युगको पत्रकारिता अन्तर्गत खेलकुद पत्रकारितामा एआई” विषयक दुईदिने तालिम सम्पन्न भएको छ।
प्रशिक्षक अजय शर्माले एआई प्रविधिको प्रयोगमार्फत समाचार लेखन, फोटो तथा भिडियो उत्पादन, अनुसन्धान तथा डिजिटल सामग्री निर्माणका विविध पक्षबारे प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष सदस्य बादल रेग्मीले तालिमले पत्रकारहरूलाई प्रविधिमैत्री बन्न प्रेरित गरेको उल्लेख गर्दै आगामी तालिमहरू थप प्रयोगात्मक र सहभागीको आवश्यकतामा आधारित हुनुपर्नेमा जोड दिनु भयो । खेलकुद पत्रकार मञ्चका कार्यक्रममा सहकार्य गर्न नेपाल पत्रकार महासंघ कास्की तयार रहेको बताउनु भयो ।
प्रशिक्षक अजय शर्माले पोखरामा खेलकुद पत्रकारितासम्बन्धी एआई विषयक तालिममा पहिलो पटक प्रशिक्षकको रुपमा सहभागी भएको उल्लेख गर्दै सहभागीहरूको उत्साह प्रशंसनीय रहेको बताउनु भयो । आगामी दिनमा साना समूहमा, सहभागीको समय र अनुकूल मौसमलाई ध्यानमा राखी प्रयोगात्मक तालिम सञ्चालन गर्न आयोजकलाई उहाँको सुझाव रहेको थियो ।
सहभागीको तर्फबाट रोजी श्रेष्ठले तालिम उपयोगी रहेको बताउँदै विशेषगरी भिडियो र फोटो सामग्री निर्माणमा नयाँ ज्ञान हासिल भएको प्रतिक्रिया दिनु भयो । तालिमको अवधि छोटो भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रम अझ विस्तृत रूपमा सञ्चालन गर्न उहाँले आग्रह गर्नु भयो । यसै गरी सहभागीकै तर्फबाट दिपक परियारले उन्नत स्तरको एआई तालिम आवश्यक रहेको बताउँदै व्यवसायिक पत्रकारिता तथा दैनिक कार्यसम्पादनमा तालिमले महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।
सचिव परशुराम शर्माले सञ्चालन गर्नु भएको समापन कार्यक्रम मञ्चका अध्यक्ष मान बहादुर धर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको थियो।