ऋषिराम रानाभाट
लेखनाथ, १७ माघ । माझठाना पोखरा सम्पर्क समाजको निःशुल्क वृहत स्वस्थ्य शिविर बिहिबार सम्पन्न भएको छ । माझठाना पोखरा सम्पर्क समाजको आयोजना, पोखरा महानगरपालिका वडा नं.२८ वडा कार्यालयको समन्वयमा रत्नशोभा माध्यमिक विद्यालयमा निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा वरिष्ठ, पेट छाती तथा मुटु रोग विशेषज्ञ डा.चन्द्र बहादुर पुन, वरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा निर्मल लामिछाने, बालरोग विशेषज्ञ डा.गण्ेश वि.क., भिडियो एक्स – रे डा.पुजन शर्मा लगायतका अनुभवी विशेषज्ञ डाक्टरहरुद्धारा स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।
उक्त शिविरमा सबै भन्दा धेरी आँखाको परिक्षण गरिएको थियो जसमा २ सय ६९ जनाले आँखाको परिक्षण गरी स्वास्थ्य लाभ लिनु भएको थियो । यसै गरी २ सय ५५ जनाले पेट, छाती तथा मुटुको परिक्षण गर्नु भएको थियो भने १ सय ५ जनाले हाडजोर्नी तथा नशा रोगको परिक्षण गरिएको कार्यक्रम संयोजक बिनोद तिवारीले जानकारी दिनु भयो । त्यस्तै गरी क्षयरोग ९१ जनाले, दाँत सम्बन्धि १ सय १० जनाले , स्त्री रोग सम्बन्धि १७ जनाले मानसिक रोग सम्बन्धि ४ जना गरी जम्मा ८ सय ५१ जनाले स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनु भएको समाजका अध्यक्ष भोलानाथ ओझाले जानकारी दिनु भयो ।
शिविरमा एक्स–रे , भिडियो एक्स–रे गरिनुका साथै सुगर र पि एफ टीको समेत परीक्षण गरिएको समाजका सचिव नरेश तिवारीले जानकारी दिनु भयो ।
यस अघि पोखरा महानगरपालिका वडा नं.२८ का वडा अध्यक्ष एवम् समाजका संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछानेले समाजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउँदै संस्थागत रुपमा अगाढि बढ्न सके आफू जन्मेको गाउँ टोलको विकास गर्न सकिने बताउनु भयो । समाजले आफ्नो पहुँच र क्षमता अनुसार विगत देखि नै विभिन्न सामाजिक तथा मानविय सेवाको कार्य गर्दै आएको बताउँदै वडा अध्यक्ष लामिछानेले संस्थागत रुपमा अगाढि बढ्नका लागि संस्थामा आवद्ध व्यत्तित्वहरु सबैमा सकारात्मक सोच हुन जरुरी रहेको बताउँदै आफू सदैव संस्थासँगै रहेको र अगामी दिनमा समाजले अगाढि सार्ने कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत वडा अध्यक्ष लामिछानेले व्यक्त गर्नु भयो ।

पोखरा महानगरपालिका वडा नं.२८ का वडा अध्यक्ष एवम् समाजका संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने
यसै गरी वरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा निर्मल लामिछाने माझठाना गाउँ सम्बन्धि कविता प्रस्तुत गर्दै आफू जन्मेको गाउँको विकास गर्न सबै एक जुट हुन कविता मार्फत सबैमा आग्रह गर्नु भयो ।
समाजका अध्यक्ष भोलानाथ ओझाले समाजले गरेका सामाजिक तथा मानविय सेवाका कार्यको चर्चा गर्दै समाजले विगतदेखि रक्तदान कार्यक्रम , स्वास्थ्य सम्बन्धि जनचेतना कार्यक्रम, असायहरुलाई आर्थिक सहयोग, माझठाना बालबिकास केन्द्रमा सहयोग, तिज फेलोसिप कार्यक्रम, अन्तरिक तीज गीत प्रतियोगिता जस्ता कार्यक्रमहरु गर्दै आएको जानकारी गराउनु भएको थियो ।
कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, क्षयरोग उपचार केन्द्र पोखरा, हिमालय आँखा अस्पताल, वि.जी.हस्पिटल एण्ड रिसर्च सेन्टर, भिडियो एक्स –रे पुजन शर्मा, पार्कल्याण्ड हस्पिटल प्रा.लि., सि एण्ड सि एडभान्स पोली क्लिनिक एण्ड कार्डिएक केयर प्रा.लि., पैरवी हेल्थ डेन्टल केयर सेन्टर प्रा.लि., सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनि पोखरा शाखा , बिहानी पोल्ट्री सप्लायर्स समाजका सल्लाहकार, कार्यसमितिका सदस्यहरु, समाजका आजिवन सदस्यहरु लगायत सबै सहयोगी मनलाई अध्यक्ष ओझाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
ग्रास तहदेखि नै कार्यक्रम सम्बन्धि प्रचार प्रसार भएको कारण शिविरमा समाजको सोचाइभन्दा बढी उल्लेख्य जनसहभागिताले आगामी दिनमा यस्ता सामाजिक कार्य गर्न धेरै हौसला मिलेको समाजका उपाध्यक्ष एवम् प्रचार प्रसार समितिका संयोजक रामकृष्ण तिवारीले जानकारी गराउनु भयो ।
समाजका कार्यसमितिका सदस्य एवम् कार्यक्रम संयोजक बिनोद तिवारीले कार्यक्रममाथि प्रकाश पार्दै यस क्षेत्रका बासिन्दालाई आफ्नै घर आँगनमा स्वास्थ्य जाँच गरी केही दिनका लागि भए पनि निःशुल्क औषधी वितरण गर्दा सहयोग पुग्ने उद्धेश्यले यस क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गरिएको स्पष्ट पार्नु भयो । समाजका अध्यक्ष भेलानाथ ओझाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन समाजका सचिव नरेश तिवारीले गर्नु भएको थियो ।
उक्त शिविरमा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र पोखरा महानागरपालिका स्वास्थ्य महाशाखाद्धारा केही औषधी सहयोग उपलब्ध गराइएको थियो भने बाँकी औषधी समाजको तर्फबाट खरिद गरी निशुल्क औषधी र चस्मा समेत वितरण गरिएको सो शिविरमा ८ जनामा मोतियाबिन्दु देखिएको र उनीहरुको शल्यक्रियाका लागि समाजको तर्फबाट हिमालय आँखा अस्पतालमा समन्वय गरी निःशुल्क रुपमा शल्यक्रिया गर्न व्यवस्था मिलाउने अध्यक्ष ओझाले जानकारी दिनु भयो ।