काठमाडौं, माघ २२ गते । सरकारले आजबाट पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा (एचपिभी) भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म चल्ने छ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले अभियानमा दिइने खोपको प्रभावकारिता शतप्रतिशत रहेको विभिन्न अध्ययनले देखाएको हुँदा ढुक्कसँग खोप लगाउन आग्रह गर्नुभयो ।

उक्त खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त हुनुका साथै औषधी व्यवस्था विभागलेसमेत स्वीकृत गरेको हुँदा यो खोप सुरक्षित र प्रभावकारी भएको डा.गौतमको भनाइ छ ।

वरिष्ठ प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालले एचपिभी भाइरसविरुद्धको खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने बताउनुभयाे । डा.रिजालका अनुसार यो खोपले महिनावारीमा कुनै असर गर्दैन । उहाँ भन्नुहुन्छ, “किशोरीको महिनावारी नियमित प्राकृतिक प्रक्रिया हो । त्यसैले एचपिभी खोप लगाउँदैमा महिनावारी छिटो वा ढिलो हुने हुँदैन ।” साथै एचपिभी खोप र बाँझोपनबिच कुनै सम्बन्ध नरहेको हुँदा ढुक्क भएर खोप लगाउन डा.रिजालको सुझाव छ । यो खोप महिनावारी भएको समयमा पनि लगाउन मिल्ने डा.रिजाल बताउनहुन्छ ।

यो खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ । यो खोप लक्षित किशोरीलाई एक मात्रा डोज दिए पुग्छ । यो खोप ०.५ एमएलले पुग्ने डा.गौतम बताउनुहुन्छ । खोप सुइको माध्यमबाट बायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र दिनुपर्दछ । यो खोप लक्षित समूह बाहेक अन्य व्यक्ति, गर्भवती, पहिला कुनै खोप लगाउँदा विगतमा गम्भीर एलर्जी भएको व्यक्तिले लगाउनु हुँदैन।

सरकारले उक्त अभियानमा विद्यालय जाने ६ देखि १० कक्षामा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ । उक्त खोप अभियानका लागि सरकारले विद्यालयमा खोप केन्द्र तोकेको छ ।