ऐतिहासिक सफलता हासिल गरेको नेपाली क्रिकेट टिमलाई बधाईको ओइरो

  • ख-
  • ख+

कठमाण्डौ, २१ माघ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली क्रिकेटमा नयाँ इतिहास रचेर नेपालीलाई खुशी दिएकामा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई विशेष धन्यवादसहित बधाई दिएका छन् । उपराष्ट्रपतिले एक शुभकामना सन्देश दिँदै नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का तथा टिमका सदस्यप्रति विशेष धन्यवादसहित सम्मान व्यक्त गरेका हुन् । उनले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टि–ट्वेन्टी अन्तर्रा्ष्ट्रिय क्रिकेट शृंखला जितेर इतिहास बनाएकामा खुशी व्यक्त गरेका छन् ।
यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले टि–ट्वेन्टी अन्तर्रा्ष्ट्रिय शृंखला जितेर इतिहास रचेको नेपाली क्रिकेट टिमलाई ट्वीट गर्दै बधाई दिएका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पनि टि–ट्वेन्टी सिरिज विजेता नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना दिएका छन् ।
अध्यक्ष दाहालले नेपाली टोलीले भर्खरै युएइमा सम्पन्न टि–ट्वेन्टी सिरिजको अन्तिम खेलमा युएइलाई हराउँदै ऐतिहासिक जित हासिल गरेलगत्तै बधाई दिएका हुन् । यसै गरी कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि ट्वीटरमार्फत नेपाली क्रिकेट टिमलाई ऐतिहासिक सफलताप्रति बधाई दिएका छन् ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पनि ट्वीट गर्दै नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । यस्तै कांग्रेसका युवा नेता धनराज गुरुङले ट्वीटरमा लेखेका छन्, ‘युएईसँगको टि–ट्वेन्टी क्रिकेट शृंखलामा नेपालले युएईलाई २–१ ले पराजित गर्दै अर्को ईतिहास रच्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाइ बधाइ दिएका छन् ।
युएईविरुद्ध तीन एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेट शृंखला २–१ ले जित्दै इतिहास रचेको नेपाली क्रिकेट टिमले टि–ट्वेन्टी शृंखला पनि २–१ ले नै जितेको हो । नेपालले अन्तर्रा्ष्ट्रिय एक दिवसीय र टि–ट्वेन्टी शृंखला पहिलो पटक जितेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्