नेपालले जित्यो पहिलोपटक एकदिवसीय क्रिकेट शृंखला, पारसको शतक

  • ख-
  • ख+

काठमाडौं, माघ १४ । नेपालले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामाथि कब्जा जमाएको छ । सोमबार युएईमाथि तेस्रो तथा अन्तिम खेलमा ४ विकेटको जित हासिल गर्दै नेपालले शृंखलामाथि २–१ ले कब्जा जमाएको हो । २५५ रनको चुनौती पछ्याएको नेपालले ४४ ओभर ४ बलमा ६ विकेटको क्षतिमा जित हासिल गरेको हो ।

कप्तान पारसको कीर्तिमानी शतक

नेपाललाई कीर्तिमानी जित दिलाउनेक्रममा कप्तान पारस खड्काले कीर्तिमानी शतक बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्नेक्रममा पारसले एक छक्का र १५ चौकाको मद्दतले १०९ बलमा ११५ रन बनाए । दुबईस्थित आइसीसी एकेडेमीको मैदानमा भएको खेलमा नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा ३१, सोमपाल कार्मीले २५ बलमा अविजित २६, आरिफ शेखले २४ बलमा अविजित २१ तथा यही खेलमार्फत् राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका सन्दीप जोराले १९ रन बनाए ।

यसअघि, नेपालले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली युएईले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको थियो । युएईले खराब सुरुआत गरेपनि अन्त्य भने निकै राम्रो गर्न सफल भयो । नेपालले सुरुआतमा कसिलो बलिङ गरेसँगै ४७ रन जोड्दा युएईले ४ विकेट गुमाइसकेको थियो । तर, त्यसपछि त्यसलाई निरन्तरता दिन नसक्दा युएईले पछिल्लो समय राम्रो ब्याटिङ गर्‍यो ।

साइमन अन्वरले ८७ तथा मोहम्मद बुँताले ५९ रन जोडे । करण केसी र पारस खड्काले समान २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान १/१ विकेट लिए । यसअघि पहिलो खेलमा युएई तथा दोस्रो खेलमा नेपाल विजयी भएको थियो । कीर्तिमानी शृंखला जितेको नेपालले अब युएईसँग तीन खेलको ट्वेन्टी–२० शृंखला खेल्नेछ । टी–२० यही माघ १७ गते बिहीबारदेखि सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्